बिरेन्द्र प्रसाद भट्ट
शिक्षक रामशाह माध्यमिक विद्यालय आँबुखैरेनी तनहुँ
विद्यार्थी, शिक्षक र अभिभावक शिक्षा क्षेत्रका त्रिरत्न अर्थात ज्ञान रथका तिन पाङ्ग्रा हुन । यि तिन रत्नको समन्वयले शैक्षिक क्षेत्रलाई शसक्त र प्रेरणादायी बनाउछ । विद्यार्थी भन्नाले ज्ञान आर्जन गर्नका लागी अध्ययनरत व्यक्ति भन्ने बुझिन्छ ।संस्कृत शब्द विद्या र अर्थी बाट विद्यार्थी शब्द बनेको हो । जहाँ विद्याको अर्थ ज्ञान र अर्थीको अर्थ इच्छुक अथवा उत्सुक भन्ने हुन्छ । विद्यार्थीमा हुनुपर्ने गुणका सम्बन्धमा चाणक्य नीतिमा एक भनाई रहेको छ । काग चेष्टा, बको ध्यान, श्वान निद्रा तथैवच,अल्पहारी,गृहत्यागी विद्यार्थी हो पञ्च लक्षणंम् । अर्थात कागको जस्तो चलाख, चतुर, बकुल्लाको जस्तो ध्यानकेन्द्रितगर्ने, कुकुरको जस्तो निद्रा, उचित आहारविहारगर्ने तथा गृहत्याग मोह त्याग गर्ने, जस्ता पाँचवटा लक्षण हुनुपर्छ । यस क्रममा विद्यार्थीमा हुनुपर्ने यी गुणहरुमा सबै भन्दा पहिला जिज्ञासा हुनुपर्छ । जिज्ञासु विद्यार्थी भन्नाले नयाँ कुरा जान्नका लागी सदैव उत्षुक,मनमा प्रश्नहरुको लहर निरन्तर वोकिरहेको , नयाँ जानकारी अन्वेषण गर्ने , दृढ इच्छाशक्ति लिएको हुन्छ । जिज्ञासा ज्ञानको पहिलो खुड्किलो हो । जिज्ञासु विद्यार्थीले सधै नया ज्ञान र अवसरको ढोका खोल्छ । जहाँ प्रश्न सोधिन्छ , त्यहाँ सिकाइको आरम्भ हुन्छ । कुनै पनि गहिराइमा पुग्न जिज्ञासाले नै भुमिका खेल्छ । हरेक जिज्ञासाले हामीलाई नयाँकुरा सिक्न मद्धत गर्छ । यो संसारमा महान विद्धान ग्यालिलियोले जिज्ञासा राखी प्रश्नसोधेको कारण गुरुत्वाकर्षणको सिद्धान्त पत्तालागेको थियो । जिज्ञासु विद्यार्थी भनेको त्यो बत्ति हो,जसले अज्ञानताको अध्यारोलाई हटाएर उज्यालो बाटो देखाउछ । जिज्ञासु विद्यार्थीको यात्रा सहज हुदैन। पढाइमा पसिना बगाउने विद्यार्थीले जीवनमा आँशु बगाउनु पर्दैन । सफलता भाग्यले होइन निरन्तर प्रयासले प्राप्त हुन्छ ।भाग्यले हामीलाई बनाउने होइन कि हामीले भाग्य बनाउनु पर्छ । हिजोको परिश्रमले आजको फल दिन्छ आजको परिश्रमले भोलीको भविष्य निर्माण गर्छ । यसकारण हामीले आफ्नो लक्ष्य प्रति प्रेरित सर्मपित र अडिग रहनुपर्छ । हामीलाई असफलताले रोक्न सक्छ तर हाम्रो जिज्ञासालाई कहिल्यै मर्न दिनु हुदैन । विद्यार्थीका लागी जिज्ञासा शक्ति हो भने ज्ञान गन्तव्य हो । विद्यार्थीले सधै प्रश्न सोध्ने हिक्मत गरौ र सधैं सिक्न तयार बनौं । शिक्षकले कक्षाकोठामा २० औँ प्रश्न विद्यार्थीलाई नसोधि विद्यार्थीबाट शिक्षकलाई प्रश्न सोध्ने वातावरण तयार गर्नुपर्छ । जब विद्यार्थी जिज्ञासु हुन्छन तब शिक्षकमा सर्मपण जिम्मेवारीको बोध हुन्छ ।शिक्षक पूर्व तयारीका साथ कक्षाकोठामा प्रवेश गर्छ , हरपल, हरक्षण ऊ आफूलाई अध्यावधिक गरिरहन्छ । जसले गर्दा उसको ज्ञानको भण्डार फराकिलो हुँदै जान्छ । शिक्षा प्रणालीलाई सुर्धार्ने हो भने सर्वप्रथम हाम्रो विद्यार्थी जिज्ञासु हुनु जरुरी छ ।
शिक्षा प्रणालीको अर्को महत्वपूर्ण पक्ष सर्मपित शिक्षक हो । विद्यालयमा धेरै प्रकारका शिक्षक हुन्छन । पदिय रुपमा शिक्षक पद धारणा गरे पनि आफ्नो उत्तरदायित्व र जिम्मेवारी बहन नगर्ने, आफ्नो पेसा प्रति सर्मपण नगर्ने, शिक्षक पनि यदाकदा रहेका भन्ने सुन्ने गरिन्छ । सर्मपित शिक्षक भन्नाले आफ्नो जिम्मेवारी बोध गरी आफ्नो विद्यार्थीको भविष्य निर्माणमा हरपल प्रयास गर्ने, धैर्यता, लगनशिलता राख्ने, आफ्नो पेसामा उच्चतम स्तरको इमान्दारिता व्यक्त गर्ने,आफ्ना विद्यार्थीको शैक्षिक, भावनात्मक र व्यक्तिगत विकासमा सक्रिय रहने, शिक्षणलाई पेसा र सेवाभावका रुपमा लिने जस्ता महत्वपूर्ण गुण हुनुपर्छ । सर्मपित शिक्षकले आफूलाई सम्पुर्ण समय शिक्षकको रुपमा चिनाउने हुनुपर्छ नकि कुनै एक कक्षाको एक घण्टे शिक्षक वा विद्यालय हाताभित्रको ६ घण्टे शिक्षक । सर्मपित शिक्षकले २४ घण्टा आफूलाई विद्यालयमा रहदा पेसाको रुपमा तथा विद्यालय बाहिर रहदा सेवाको रुपमा अभिभावक विद्यार्थीलाई सहयोग गरेर चिनाउन सक्नुपर्छ । जसले यसरी आफूलाई चिनाउछ ऊ शिक्षक शिक्षा क्षेत्रको साँचो नायक हुन्छ। यिनले विद्यार्थीलाई केवल ज्ञान मात्र नदिइ उनिहरुको जीवनमा सकारात्मक प्रभाव पार्दछन । सर्मपित शिक्षकले आफ्नो सम्पूर्ण जीवन शिक्षा क्षेत्रमा व्यतित गर्छ, उसले विद्यार्थीको हितका साथसाथै विद्यालय,समाज र राष्ट्रको हितलाई मध्यनजर गर्छ र हरेक क्षण आफूलाई समाज र राष्ट्रका लागि सर्मपण गर्छन । एक समर्पित शिक्षकले कक्षाकोठामा केवल पाठ्यपुस्तकका विषयवस्तु पढाउँदैनन, बरु जीवनका असङ्ख्य पाठ सिकाउछ । सर्मपित शिक्षकले नित्य नयाँ विधिको खोजि गर्छ, विद्यार्थीको सामर्थ्य पहिचान गर्छ । कक्षाकोठालाई एक सिर्जनात्मक र प्रेरणादायक वनाउँछ । विद्यार्थीको भविष्य उज्जबल बनाउनतिर अग्रसर हुन्छ । विद्यार्थीको प्रगतिको सर्मर्थन गर्छ । सकारात्मक वातावरण तयार पारी सिक्न र सिकाउन सधै उत्सुक हुन्छ । खोज अनुसन्धान अध्ययन अन्वेषणतिर तत्लिन हुन्छ । शिक्षक अभिभावकसँग परामर्श छलफल गर्छ र सुझाव ग्रहण गर्छ । विद्यालयका हरेक अतिरिक्त क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउछ । आफ्नो पेसा प्रति उच्च सम्मान गर्दै जीवनलाई नै शिक्षण पेसामा सर्मपण गरी समाजमा उच्च आदर्श कायम गराउछ । सर्मपित शिक्षकले एक माली झै आफ्नो विद्यार्थीरुपी फुलवारीमा कडा मिहेनत , लगन र परिश्रमका साथ समर्पित भएर सुन्दर फुलरुपि विद्यार्थी उत्पादन गर्छ । समर्पित शिक्षकले चिन्तन मनन भनेको विद्यालय हो । आफु कार्यरत संस्थाको सर्वाङर्गीण विकास र आफ्नो विद्यार्थीको उज्जबल भविष्यका लागि उ सधैं नतमस्तक रहन्छ । उसले विद्यालय र विद्यार्थीका लागी आफ्नो जीवनलाई घाम जस्तै अरुको उज्जालोको लागि समर्पण गर्छ । एक समर्पित शिक्षक दियो झै हो , जो आफूलाई जलाएर अरुका लागि उज्यालो वाटो देखाउछ । समर्पण र धैर्य शिक्षाका आधार स्तम्भ हुन, जुन शिक्षकको जिम्मेवारीले झल्काउँछ । समर्पित शिक्षकलाई विद्यार्थी अभिभावक समाज विद्यालय प्रशासनले समेत उचित मूल्याङ्कन गरिरहेका हुन्छन । समर्पित शिक्षकले म विद्यार्थीका लागि र विद्यार्थी मेरा लागी भन्ने भाव र प्रण लिएर आफ्नो जिम्मेवारी निर्वाह गर्छ । यसैक्रममा चिनिया एक भनाई रहेको छ शिक्षक उडे विद्यार्थी दौडिन्छ शिक्षक दौडे विद्यार्थी हिड्छ शिक्षक हिडे विद्यार्थी बस्छ शिक्षक बसे विद्यार्थी सुत्छ र शिक्षक सुते विद्यार्थी मर्छ । यस भनाईवाट पनि शिक्षकको भुमिका विद्यार्थीका लागी कस्तो हुनुपर्छ भन्ने प्रस्ट हुन्छ । प्रत्येक विद्यार्थी अमुल्य रत्नकारुपमा रहेका हुन्छन र एक कुशल समर्पित शिक्षकले उनिहरुलाई चम्काउने काम गर्छ ।
यसै गरी शिक्षा क्षेत्रको त्रिरत्नमा सन्तुष्ट अभिभावक पनि पर्दछन । अभिभावक विद्यार्थीको पहिलो पाठसालारुपि घरको पहिलो शिक्षक हुन । उनीहरुवाट विद्यार्थीलाई उच्च नैतिकता आचरण जिज्ञासा र प्रेरणा प्राप्त भइरहेको हुन्छ । विद्यालय समाजको एक अंग हो । जसलाई Mini society (मिनि सोसाइटी) का रुपमा लिइन्छ । जब Mini society (मिनिसोसाइटी) रुपि विद्यालयमा समाजको उत्तरदायित्व र जिम्मेवारी उचित ढंङ्गले भएन भने विद्यालयको चौतर्फि विकास रोकिन्छ । विद्यालयको चौतर्फि विकासमा अवरोध आएमा समग्र शिक्षा प्रणालीको लगानी, प्रक्रिया र उत्पादनमा असर पर्छ । यस कारण समग्र शिक्षा प्रणाली सुधार गर्न समाजको महत्वपूर्ण भुमिका रहन्छ । समाज भन्नाले अभिभावकहरुको समुह हो । जब समाजका अभिभावक सन्तुष्ट हुन्छन तब विद्यालय प्रति उनीहरुको समर्पण, लगानी, जिम्मेवारी र उत्तरदायित्व बढ्छ । विद्यालय हाम्रो हो, हामीले राम्रो विद्यालय बनाउन प्रयत्न गर्नुपर्छ भन्ने भावना जाग्छ । मुख्यतःअभिभावकले बालवालिकाको शैक्षिक सामाजिक र व्यक्तिगत प्रगतिलाई मूल्याङ्कन गरी रहेका हुन्छन । जब अभिभावकले आफ्नो बच्चाको शैक्षिक स्तर राम्रो दिसामा अघिबढिरहेको , बालकले जीवनका लागि आवश्यक सिपहरु विकास गरीरहेको हुन्छ, विद्यालयको राम्रो शैक्षिक वातावरण ,उत्कृष्ट शिक्षण पद्धति, विद्यालय र समुदायको राम्रो सम्बन्ध, अभिभावकलाई सम्मान मिल्छ, तब अभिभावक सन्तुष्ट हुन्छन ।अभिभावकको सन्तुष्टिले समग्र शैक्षिक प्रणालीलाई सहयोग गर्छ । हाम्रो वर्तमान सामुदायिक शिक्षा ध्वस्त हुँदै जानुको एक कारण यहि अभिभावकको असन्तुष्टि पनि रहेको छ । आफ्नो घरदैलोको विद्यालय प्रति चासो जिम्मेवारी छैन । घरदैलोको सामुदायिक विद्यालय छोडेर शहर वा अन्यत्र रहेका विद्यालयमा विद्यार्थी भर्ना गर्न बाध्य भइरहेका छन ।अब शिक्षा प्रणालीलाई नै सुधार गर्न अभिभावकलाई सन्तुष्ट पार्न जरुरी छ । जसका लागि विद्यालयले बालबालिकाको शैक्षिक, भावनात्मक तथा सामाजिक विकासमा ध्यfन दिइ अभिभावकसँग सकारात्मक र सहयोगी भावना स्थापित गराउनु जरुरी छ । विद्यालयले हरेक अभिभावकलाई सन्तुष्टि पार्न सके अभिभावकले अपनत्व बोध गर्छ र समग्र विद्यालयको हित र विकासमा योगदान दिन्छन् । देशका विभिन्न उत्कृष्ट नमुना विद्यालयहरु निर्माणमा अभिभावकहरुकै विशेष भुमिका रहेको देखिन्छ । अभिभावकको सन्तुष्टिका कारण विद्यालयहरुले जग्गादान, आर्थिक सहयोग, भवन निर्माण, अक्षयकोष स्थापना लगाएतका उत्कृष्ट कार्य गरी सामुदायिक शिक्षालाई नै आफैले जिम्मामा लिइ अघिबढिरहेका पाइन्छ ।
यसका लागि विद्यालयये गुणस्तरिय शिक्षा, विद्यार्थीको समग्र विकास, अभिभावकहरुसँगको नियमित भेटघाट, परामर्श ,उनीहरुका बालबालिकाको बेलाबेलामा जानकारी दिने , विद्यालय अभिभावकको हो भन्ने भावना विकास गराउनु पर्छ । जब अभिभावकले आफ्नो बच्चाको सर्वाङ्गिण विकास भइरहेको, विद्यालयले चौतर्फि क्रियाकलाप गरीरहेको, बच्चा खुशी र प्रगती उन्मुख भएको देख्छ तब विद्यालय प्रति सकारात्मक भाव र सन्तुष्टि जाहेर गर्छन ।
यसरी समग्रमा शिक्षा प्रणालीका त्रिरत्नका रुपमा शिक्षक, अभिभावक र विद्यार्थी रहेका छन । जिज्ञासु विद्यार्थी, समर्पित शिक्षक र सन्तुष्ट अभिभावकको मिलन नै शिक्षाको पूर्णता हो । जब विद्यार्थी प्रश्न गर्न चाहन्छन, शिक्षक उत्तर दिन तयार हुन्छन, अभिभावक समर्थन गर्छन भने तब मात्रै शिक्षा फलदायी बन्छ । शिक्षाको विकासमा विद्यार्थीको जिज्ञासा शिक्षकको लगनशिलता र अभिभावकको विश्वास आवश्यक हुन्छ । जब हरेक विद्यार्थी जिज्ञासु र हरेक शिक्षक समर्पित हुन्छन हरेक अभिभावकको सन्तुष्टि स्वतःप्रकट हुन्छ शिक्षा तब सफल हुन्छ ।जब विद्यार्थीको जिज्ञासा शिक्षकको समर्पण र अभिभावको सन्तोष एक अर्कोमा तालमेल मिल्छ ।
Comments
Post a Comment